धनुषा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न भएको करिब चार वर्ष भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । पुल सञ्चालनमा नआउँदै भासिएपछि पुन: निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
पुल भासिएपछि स्थानीय बासिन्दा पुनर्निर्माणका लागि लामो समयदेखि प्रतिक्षारत छन् । सिरहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आउ-जाउ गर्न यस पुलको अभावमा निकै कठिनाइ भइरहेको छ ।
स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि आवश्यक प्राविधिक जाँच तथा मर्मत कार्यमा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेको थिएन । पुल भासिएपछि पुन: निर्माण कार्य अघि बढाइए पनि यसको गुणस्तर र टिकाउपन बारे स्थानीयवासी चिन्तित छन् ।
सम्बन्धित निकायले पुल पुन: निर्माण कार्यलाई शीघ्र सम्पन्न गरी नागरिकलाई यातायात सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि स्थानीयहरू समयमै पुल सञ्चालन नहुने हो कि भन्ने आशंकामा छन् । यस विषयमा सरोकारवाला निकाय तथा ठेकेदार कम्पनीबाट आधिकारिक धारणा आउन बाँकी छ ।




