महोत्तरी । बर्दिबास नगरपालिका ४ स्थित नाभ्या होटलमा बुधबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीका कारण होटलमा रहेका दुई थान फ्रिज, तीन थान एयर कन्डिसनर लगायतका सामान जलेर करिब पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा तथा दमकलको सक्रिय सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
आगलागीबाट होटलमा ठूलो क्षति पुगेको भएपनि कुनै मानवीय क्षति भने नभएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । स्थानीय व्यवसायीहरूले विद्युत् सर्टबाट हुने दुर्घटनाबाट बच्न सावधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।




