रौतहट । रौतहट स्थित भन्सार छलेर ल्याएको सवा ९ लाखको विभिन्न किसिमका भन्सार छलीको सामान, ६ सवारी साधन सहित एक जना तस्कर र ३४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस महिनाको १३ दिनभित्र उक्त उपलब्धी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले यही चैत्र १ देखि हिजो १३ सम्म भन्सार छलीको सामानबाट कुल ९ लाख २३ हजार १८० रुपैयाँ राजश्व संकलन गरेको हो ।
उक्त भन्सार छलिको सामान ल्याउन प्रयोग गरिएको मोटरसाइकल ४ थान, अटो रिक्सा १ थान, स्कुटी १ थानसहित १ जना तस्करलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
त्यसैगरी सोही अवधिमा फैसला कार्यान्वयन अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट २६ जना फरार प्रतिवादी र विभिन्न मुद्दाको फरार ८ अभियुक्त गरी ३४ जनालाई पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।
तोकिएको दण्ड जरिवाना अशुल गर्न पक्राउ परेका २६ जना प्रतिवादीलाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको तथा विभिन्न मुद्दाका ८ जना अभियुक्तलाई कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ ।




