रूपन्देही । रूपन्देहीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयका अनुसार, रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
बिहीबार दिउँसो भन्सार छली तथा चोरी तस्करी गर्न सहजीकरण गर्ने भन्दै घुस लिइरहेका बेला अख्तियारको टोलीले उनलाई मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका ६ मकरीचोकबाट पक्राउ गरेको हो ।
अख्तियार बुटवल कार्यालय प्रमुख विनिता भट्टराईका अनुसार, पक्राउ परेका खड्कामाथि घुस प्रकरणमा आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।




