बारा । बारामा अस्पतालमा बम राखिएको भन्दै धम्की दिएर फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति कलैया उप-महानगरपालिका ५ घुसुकपुरका मदन मिश्र रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिश्रले ए प्लस अस्पतालमा बम राखिएको बताउँदै सोही अस्पतालका डा. विकेशकुमार पाण्डेयलाई पटक पटक फोन गरी २० लाख रुपैयाँ फिरौती मागेका थिए ।
घटनाको अनुसन्धान गर्दै जाँदा विशेष प्रहरी टोलीले उनलाई कलैया १० शिवपुर चिउटाहाबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।




