सप्तरी । सप्तरी जिल्लाको खडक नगरपालिका ११ लालपुरमा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार दिउँसो राम प्रसाद साहको गोठमा लागेको आगो फैलिँदा सोही ठाउँका महेन्द्र साहको गोठमा समेत आगलागी भएको हो ।
स्थानीयका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा दमकल टोली सक्रिय रहे । तर, आगो नियन्त्रणमा आउनुअघि नै दुबै गोठ पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए ।
प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेको पशुचौपाया, भाडावर्तन, अन्नपात लगायतका सामान जलेर नष्ट भएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।
त्यसैगरी सप्तरीको राजगढ गाउँपालिका ४ जमुवा बस्ने घोघन यादवको घरमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।




