धनुषा । धनुषाको मुखियापटी गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई बुधबारबाट बन्द गराइएको छ । गाउँपालिका अध्यक्ष जयकुमार यादवका अनुसार पटक पटक सूचना जारी गरेपनि कानुनी प्रक्रिया पूरा नगरेका तथा अटेर गर्दै सञ्चालन भइरहेका निजी विद्यालयहरू बन्द गराइएको हो ।
बन्द गराइएका विद्यालयहरूमध्ये न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशाला लगायतका विद्यालय रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई दिएको हुँदा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले कारबाही प्रक्रिया अघि बढाइएको यादवले बताए ।
अध्यक्ष यादवले अभिभावकहरूलाई अवैध रूपमा सञ्चालित विद्यालयमा बालबालिका भर्ना नगर्न आग्रह गर्दै विद्यालय सञ्चालकहरूलाई कानुनी प्रक्रिया पूरा गरी मापदण्ड अनुसार दर्ता गराएर मात्र विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।




