सर्लाही । सर्लाही प्रहरीले इश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको टोलीले संयुक्त रूपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बुधबार राति करिब ८ बजे ज १२ प ९०९९ नम्बरको मोटरसाइकल जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत, बिहारको सितामढी जिल्ला सोनवर्षा थाना अन्तर्गत इनरवा सोहरवा १७ निवासी ३० वर्षीय शम्भु कुमार कुशवाहा र २५ वर्षीय संजय ठाकुर रहेका छन् ।
हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगंजमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।




