सर्लाही । सर्लाही प्रहरीले आफूलाई नेपाल प्रहरीको व्यूरो इन्सपेक्टर बताउँदै होटल संचालकलाई धम्क्याउने एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार, मलंगवा १० स्थित साहारा गेस्ट हाउसका संचालकलाई ‘व्यूरो इन्सपेक्टर’ भएको भन्दै धम्क्याइरहेको सूचना पाएपछि प्रहरी टोलीले सर्लाहीको हरिवन नगरपालिका ६ निवासी २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ ५ बजे पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको पुष्टि भएको छ । साथै, उनको शरीर खान तलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मोका ३ पत्ता (२४ ट्याबलेट) फेला परेको छ ।
हाल उनलाई अनधिकृत रुपमा धाकधम्की दिएको र लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।




