वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब २२० ग्राम पदार्थ सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू भारत बिहार मोतिहारी थाना रक्सौल नगरपंचायतका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बुधबार साँझ बीआर ०६ डीई ०००७ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा ४८ वर्षीय अमित कुमार श्रीवास्तव, ३७ वर्षीय कृष्णा कुमार, ३८ वर्षीय सधिर कुमार कुश्वाहा र २७ वर्षीय राजा कुमार यादव रहेका छन् । प्रहरीका अनुसार स्कारपियो सवारी साधन रक्सौलबाट वीरगंजतर्फ आउँदै गर्दा जाँचका क्रममा लागूऔषध फेला परेको हो ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




