रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा एक ५० वर्षीय महिलाको शव फेला परेको छ । वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, नगरपालिकाको विश्रामपुरस्थित जंगलमा गाडिएको अवस्थामा फेला परेको शव वृन्दावन नगरपालिका वडा नम्बर १ की फूलमतिया देवीको रहेको छ । उनी गएको चैत १४ गते आफ्नै घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ता भएको आठ दिनपछि उनको शव फेला परेको हो ।
बेपत्ताको उजुरी परेपछि प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा फेला परेको गरुडा प्रहरी प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार, हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अहिलेसम्म दुई जनालाई पक्राउ गरेको छ । यस बारे विस्तृत अनुसन्धान भइरहेको र दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले बताए ।




