महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ स्थित बहेडा चोकमा गएराति भएको भीषण आगलागीबाट करिब ५५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरीको औरही नगरपालिका २ निवासी २७ वर्षीय मुकेश ठाकुरले संचालन गर्दै आएको फर्निचर पसलबाट आगलागी सुरु भएको बताइएको छ । उक्त आगो फैलिएर आसपासका अन्य पसलहरूमा समेत क्षति पुर्याएको छ ।
आगलागीबाट एकडारा गाउँपालिका ५ का सुरेश साहको मिठाई पसल, ३८ वर्षीय विजय साहको किराना पसल र ५४ वर्षीय शुभ नारायण साहको घुम्ती पसल पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ ।
स्थानीय प्रहरी र बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीका कारण ठूलो आर्थिक क्षति भएको हो । आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार शर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।




