रौतहट । विगतमा काठ चोरी र तस्करीका घटनाले चर्चामा आएको रौतहटस्थित सरकारी स्वामित्वको राष्ट्रिय वन क्षेत्रमा पछिल्लो समय तीव्ररूपमा खयर जातका रुख फडानी गरी जमिन अतिक्रमण गर्ने क्रम तीव्र बनेको छ ।
स्थानीयबासीदेखि विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका व्यक्तिहरूले सयौँ बिगाहा वन क्षेत्रलाई अवैध रूपमा कब्जा गर्दै व्यक्तिगत खेतका रूपमा प्रयोग गर्न थालेका छन् । बागमती नदीको बगर क्षेत्रमा पर्ने वृन्दावन नगरपालिका १ मा बहुमूल्य खयर जातका रुख धमाधम मासिँदै छन् । वन क्षेत्रलाई अतिक्रमण गरेर खेतीयोग्य जमिनमा परिणत गरिँदै आएको स्थानीयवासीहरू बताउँछन् ।
यसै सन्दर्भमा, आइतबार डिभिजन वन कार्यालय रौतहटले खयर फडानी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका ४ हरैया गाउँका बिल्टु राय यादव रहेका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहका अनुसार, वृन्दावन सब-डिभिजन वन कार्यालय बल्लरीबाट खटिएको गस्ती टोलीले खयरघारी फडानी गरिरहेको अवस्थामा यादवलाई रंगेहात पक्राउ गरेको हो ।
प्रमुख साहले बताएअनुसार यादवले वृन्दावन नगरपालिका १ स्थित पूर्वमा बागमती नदी, पश्चिममा नदीको भंगालो, उत्तर र दक्षिणतर्फ खयरघारी रहेको करीब पाँच कठा क्षेत्रफलमा पर्ने वन क्षेत्र अतिक्रमण गरेर खुकुरी प्रयोग गरी खयर झाडी र बुट्यान फँडानी गरेका थिए ।
यस अतिक्रमणका सम्बन्धमा यादवविरुद्ध वन ऐनअनुसार आवश्यक कानुनी कारबाही अगाडि बढाइने प्रमुख साहले जानकारी दिए । वन कार्यालयका अनुसार, पछिल्लो समय वृन्दावन सब-डिभिजन अन्तर्गतका वन क्षेत्रमा खयरका रुखहरू व्यापक रूपमा मासिँदै छन् ।
बगर क्षेत्रलाई खेतीयोग्य बनाउने उद्देश्यले सुरुमा रुखमुनिको झारपातमा आगो लगाउने, त्यसपछि खयर र अन्य रुख फँडानी गरी अवैध रूपमा खेत बनाई अतिक्रमण गरिँदै आएको छ ।
डिभिजन वन कार्यालय रौतहटको पूर्वको उदासिनताका कारण हालसम्म बागमती नदीले अधिग्रहण गरेका बगर क्षेत्रहरूमा रौतहटकै होइन, काभ्रे, मकवानपुर, सिन्धुली लगायत जिल्लाबाट आएका व्यक्तिहरूले हजारौं हेक्टर वन क्षेत्र कब्जा गरी व्यक्तिगत खेतीमा रूपान्तरण गरिसकेका छन् ।
उनीहरूले अवैध रूपमा खयर रुख फँडानी गरी बेपत्ता बनाएको अनुमान गरिएको छ । वन क्षेत्रको संरक्षणमा सरोकारवालाहरूको निष्क्रियता र प्रभावकारी कारबाहीको अभावले गर्दा बहुमूल्य वन स्रोत नष्ट हुँदै गएको प्रति स्थानीयवासी तथा सरोकारवाला निकायहरू चिन्तित बनेका छन् ।




