धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका १० लालगढमा आइतबार भएका दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको घटनामा करिब ३२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पहिलो घटना आइतबार बिहान धनेश्वरी खानेपानी संस्था लालगढको कम्पाउण्डभित्र भएको हो । आगलागीका कारण कम्पाउण्डमा रहेका पाईपहरू जलेर करिब ७ लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको जनाइएको छ ।
त्यस्तै, सोही दिन बेलुकी निर बहादुर गिरीको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर तथा भित्र रहेका सुनचाँदीका गहना, नगद, लत्ताकपडा लगायतका सर सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




