धनुषा । मिथिला बिहारी नगरपालिका ५ ललियामा सोमबार राति खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय २५ वर्षीय श्यामसुन्दर मण्डलमाथि खुकुरी प्रहार भएको हो ।
स्थानीय साप्ताहिक बजार नजिकै दुई व्यक्तिबीच भनाभन भएपछि भएको झगडाले हिंसात्मक रूप लिएपछि मण्डलमाथि खुकुरी प्रहार भएको जनाइएको छ ।
प्रहरी चौकी ललियाका सहायक प्रहरी निरीक्षक रामजीवन चौधरीका अनुसार मण्डलमाथि खुकुरी प्रहार गर्ने व्यक्ति अन्दाजी ५० वर्षीय विजय नामका स्थानीय हुन्, उनले ललियामै मदिरा पसल सञ्चालन गर्दै आएका थिए ।
घटनापछि विजय फरार भएका छन् । प्रहरीका अनुसार मण्डलको घाँटीमा गहिरो चोट लागेको छ र उनी अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
दुबै जनाबीच विवाद किन भएको भन्ने कारण अझै खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका विजयको खोजी कार्य तीव्र पारिएको जानकारी प्रहरी स्रोतले दिएको छ ।




