रौतहट । मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन् ।
मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका ३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए ।
सिमावर्ती भारतीय गाउँ पिठवा छेऊ पिलर संख्या ३५६/४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २-०३-००७ प १७६७ नम्बरको कालो रङको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।
सीमा क्षेत्रको गतिविधि नियालिरहेको झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र चार किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन् ।
पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकीभित्र गाँजा र सिटमुनि राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्याएको सोधपुछको क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ ।
बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ ।
मकवानपुरको बिकट ठाउँहरूमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको विभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन् ।
बिहार पूर्वी चम्पारण जिल्लामा प्रहरी प्रमुख एसपीको रुपमा आइपिएस अफिसर सुवर्ण प्रभातले जिम्मेवारी सम्हालेदेखि अपराधी तथा लागुऔषध कारोबारीहरूको भागाभाग भएको छ ।
एसपी प्रभातको निर्देशनमा दर्जनौं अपराधीका साथै ठूलो संख्यामा लागुऔषध कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ ।




