बारा । बारा जिल्लाको पचरौता नगरपालिका ५ मा एक भारतीय नागरिकले नक्कली कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको छ ।
भारतको मोतिहारी जिल्ला, जितना थाना अन्तर्गत बडइला बस्ने रामकैलाश यादवले आफ्ना ससुरा नवल राय यादवलाई बुबा बनाउँदै झुटो विवरण पेश गरी वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका हुन् ।
उनले २०६३ साल फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँमै नागरिकता लिएका थिए । नागरिकता प्रमाणपत्र तत्कालीन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९/५०८३ नम्बरमा जारी गरिएको थियो ।
रामकैलाश यादवसँग नेपाल र भारत दुबै देशको परिचयपत्र रहेको र उनी निर्वाध रूपमा आउजाउ गरिरहेको स्थानीयवासीहरूले गुनासो गरेका छन् । भारतमा यादवका नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।
यस घटनापछि पचरौता नगरपालिकाका नगरप्रमुख जालन्धर सिंह जैसवारले दोषीमाथि कडा कारबाहीको माग गर्दै सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेका छन् ।
उनले भने, “एक भारतीय नागरिकले आफ्ना ससुरालाई बुबा बनाउँदै झुटो विवरणमा वंशजको नागरिकता लिएका छन् । यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गर्दछु ।”
प्राप्त जानकारी अनुसार हाल घटना बारे सम्बन्धित निकायमा अनुसन्धान अघि बढाइएको छ ।




