रौतहट । रौतहटको ईशनाथ नगरपालिका ३, औरैया टोलमा करेन्ट लागेर एक सात वर्षीय बालकको ज्यान गएको छ । बिहीबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका आलम मियाको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालक सोही स्थान निवासी मेराजुल मियाका छोरा हुन् । स्थानीय धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घटनापछि उनलाई तत्कालै उपचारका लागि गौरस्थित अस्पताल पुर्याइएको थियो, तर चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
प्रहरीका अनुसार घटनाको कारण पत्ता लगाउने र थप विवरण संकलन गर्न आवश्यक अनुसन्धान सुरु गरिएको छ । यस घटनाले स्थानीय समुदायमा शोकको वातावरण छाएको छ ।




