बारा । बारा प्रहरीले ब्राउनसुगर तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ । ट्याक्टरको इन्धन ट्याङ्कीभित्र लुकाएर ल्याइएको ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्ति भारत बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको शिवनगर इनरवा पञ्चायत वडा नं. २ निवासी ३० वर्षीय टुटु कुमार (ट्याक्टर चालक) र ३२ वर्षीय टुटु अन्सारी रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, कलैयाबाट खटिएको टोलीले चैत २७ गते दिउँसो फेटा गाउँपालिका ३, चौताराबाट ट्याक्टर जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
भारत बिहारको घोडासाहनबाट आएको ना ३ त ४७१४ नम्बरको ट्याक्टर जाँच गर्दा इन्धन ट्याङ्कीभित्र प्लास्टिकमा बेरेर राखिएको १५८ ग्राम ९१० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितले बताए ।
प्रहरीका अनुसार, पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ । एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेयता बारा प्रहरीले लागुऔषध नियन्त्रण तथा तस्करी विरुद्ध सघन अभियान सञ्चालन गर्दै आएको छ ।
अभियान अन्तर्गत प्रहरीले ठूलो परिमाणमा लागुऔषध र भन्सार छलीका सामान बरामद गर्नुका साथै दर्जनौँ तस्कर तथा कारोबारीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइसकेको जनाएको छ ।
यस घटनाले सीमा क्षेत्रमा सक्रिय लागुऔषध तस्करीको प्रवृत्तिलाई थप गम्भीर रूपमा लिइराखेको संकेत गरेको छ । प्रहरीको सक्रियता र सफलताले लागुऔषध नियन्त्रणमा ठूलो आशा जगाएको छ ।




