सिरहा । सिरहाको पुरानो चोहर्वा बजारमा संचालनमा रहेको एक बेनाम औषधि पसलबाट सेवाग्राहीलाई ठगी गरिएको घटना सार्वजनिक भएको छ । नरहा गाउँपालिका २ निवासी एक बिरामीले चिकित्सकले सिफारिस गरेको औषधिको सट्टामा गलत औषधि दिइएको गुनासो गरेका छन् ।
बिरामी राजन यादवले स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहमा औषधि किन्न उक्त पसल गएका थिए । तर, उनले खरिद गरेको ‘कालाभाम’ नामक ट्याबलेट सेवन गरेपछि समस्या झन बढेको गुनासो गरेका छन् । औषधि सेवन बन्द गरेपछि मात्रै पेट दुख्ने समस्या कम भएको उनले बताए ।
पछिपछि समस्या बुझेर औषधि फिर्ता गर्न गएका यादवलाई पसल संचालकले औषधि फिर्ता लिन मानेनन् । पसल सञ्चालक सुनिल सिंहले औषधि फिर्ता नगर्नु गल्ती भएको स्वीकार गरेका छन् । उनले पसलमा एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) को दबाबमा बिक्री हुने औषधिलाई प्राथमिकता दिने प्रचलन रहेको पनि स्वीकारेका छन् ।
पसल न त दर्ता गरिएको छ न त कुनै व्यावसायिक नाम नै रहेको छ, जसले गर्दा यस्तो गतिविधिमा जिम्मेवारी तय गर्न समेत कठिनाइ हुने देखिएको छ । यस विषयमा गोलबजार नगरपालिकाका स्वास्थ्य संयोजक सरोज कर्णले औषधि पनि अन्य सामान झैँ उपभोक्ताले असन्तुष्टि जनाएमा फिर्ता हुनुपर्ने बताए ।
‘बजारका अन्य सामानहरू जस्तै औषधि पनि फिर्ता हुनुपर्ने हो, यदि फिर्ता नगर्ने हो भने त्यो निश्चित रूपमा गलत व्यवहार हो,’ कर्णले भने, ‘यस घटनाको बारेमा विस्तृत जानकारी संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’ स्थानीयवासीले यस्ता बेनाम औषधि पसलहरूमा नियमित अनुगमन र कडाइका साथ कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।




