सर्लाही । सर्लाही जिल्लामा दुई फरक स्थानमा भएको आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बलरा नगरपालिका १० सुदामा निवासी अजय कुमार सिंहको किराना पसलमा शुक्रबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा करिब ३ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीमा पसलमा राखिएको फ्रिज, लत्ताकपडा, नगद रकम लगायतका विभिन्न सामाग्री जलेर नष्ट भएका छन् ।
त्यसैगरी, बरहथवा नगरपालिका १० कटानीस्थित आत्मा राम रायको स्वामित्वमा रहेको ओम प्रकाश हर्बल ईन्डस्ट्रिजमा शुक्रबार राति भीषण आगलागी हुँदा करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
दुबै घटनाको कारण विद्युत सर्ट मानिएको छ भने आगलागी नियन्त्रणमा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले लिइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




