जनकपुर । मिथिला नगरपालिका २ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले जनकपुर–ढल्केवर सडकमा बुधबार चक्काजाम गरेका छन् ।
चक्काजाममा सहभागी स्थानीयहरूले सरकार र निर्माण व्यवसायी प्रति आक्रोश व्यक्त गर्दै उक्त पुल निर्माणको काममा लापरबाही गरेको आरोप लगाएका छन् ।
राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर त्यसको प्रगति नभएको उनीहरूको भनाइ छ । पुल निर्माण अधुरो रहँदा दर्जनौँ व्यक्तिहरू दुर्घटनामा परी ज्यान गुमाइसकेको स्थानीयहरूको गुनासो छ ।
मिथिला नगरपालिका ६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणको लापरवाहीलाई जनताको जीवनसँग खेलवाड रहेको बताएका छन् । उनले भने, “हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ । यदि तत्काल निर्माण कार्य सुरु नभए संघर्ष चर्किनेछ ।”
यसैबीच, आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुने जानकारी दिइएको छ । यदि वार्ता सकारात्मक हुन नसके प्रमुख आन्दोलनका कार्यक्रम जस्तै आमसभा, धर्ना र मसाल जुलुसको घोषणा गरिने चेतावनी पनि स्थानीयवासीले दिएका छन् ।
पुल नहुँदा साना सवारी साधन खोलाको पेटीबाट जोखिमपूर्ण रूपमा ओहोरदोहोर गर्न बाध्य छन् । चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको ठूलो सहभागिता रहेको थियो ।




