महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित क्षेत्रबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५० ट्याब्लेटसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भँगाहा नगरपालिका ७ का ३० वर्षीय पप्पु कुमार गिरी र १९ वर्षीय सुजित गिरी रहेका छन् ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज ८प ३४०५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गर्दा रोकेर जाँच गर्दा लागूपदार्थ बरामद भएको हो ।
प्रहरीका अनुसार उक्त ट्याब्लेटहरू गैरकानुनी रुपमा ओसारपसार गर्ने उद्देश्यले बोकेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जना हाल हिरासतमा छन् र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागूऔषध कारोबारमा संलग्न गिरोहको खोजी तथा तस्करीको सञ्जाल बारे विस्तृत अनुसन्धान थालिएको बताइएको छ ।




