सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका १० स्थित सडकखण्डबाट प्रहरीले लगभग ९० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । गाँजा बोकेको कारका चालक प्रहरी देखेपछि फरार भएका छन् ।
बुधबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा बिआर ०६ टि ९२९३ नम्बरको कार रोकेको थियो । प्रहरी देख्नासाथ चालकले कार छाडेर भागेपछि तलासी गर्दा ६ वटा पोकामा गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी सुरु गरेको छ । साथै, लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




