हेटौंडा । मकवानपुरगढीमा शुक्रबार बिहान भएको इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा एक जनाको उपचारको क्रममा र एक जनाको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको इभी गाडी मकवानपुरगढी गाउँपालिका २ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा बिहान करिब १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा रौतहटको दुर्गा भवानी गाउँपालिका ५ की ५० वर्षीया निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । यस्तै, सर्लाहीको बागमती गाउँपालिका ७ की १३ वर्षीया मानुसी मगरको घटनास्थल नजिकै खोल्सामा मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । उनको शव बिहान साढे ५ बजे फेला परेको हो ।
घाइते १३ जनामध्ये केहीको हेटौंडा अस्पतालमा र केहीको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी तीव्र गतिमा रहेको र मोडबाट अनियन्त्रित हुँदै झन्डै २०० मिटर तल खसेको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
गाडीका चालक सर्लाही बागमती गाउँपालिका ५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् र अहिले प्रहरीको निगरानीमा उपचाररत छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




