बारा । बारा जिल्लाको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका १६ भुईँपुल नजिकै टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर निजगढबाट पथलैयातर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको बा ०१ ०२५ च ५०७६ नम्बरको कारसँग ठोक्किँएको हो ।
दुर्घटनामा परेर कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका १५ हजरियन निवासी ४६ वर्षीय नारायणहरि शर्माको घटनास्थलमै ज्यान गएको हो ।
कार चालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ तर उनको परिचय भने हालसम्म खुल्न सकेको छैन । दुवै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि निजगढ नगरपालिकास्थित अस्पताल पुर्याइएको भएपनि अस्पताल प्रशासनले चेकजाँचपछि दुवै जनालाई मृत घोषित गरेको हो ।
यस दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन् । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




