रौतहट । रौतहट जिल्लामा शुक्रबार राति भएका तीन फरक फरक आगलागी घटनामा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बौधीमाई नगरपालिका ५ कोप्वामा बसोबास गर्ने धर्मेन्द्र जैसवालको घरको अण्डरग्राउण्ड गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हो ।
गोदाममा रहेको कपडा, चप्पल, मोटरसाइकल र संरचना पूर्ण रूपमा जलेर नष्ट भएको र अनुमानित करिब १ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरी गौर नगरपालिका ४ कबिर चोकमा कृष्णनन्दन पेटलको घरमा राति अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। सो आगलागीबाट करिब २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
यस्तै, इशनाथ नगरपालिका ३ निवासी रामाकान्त साहको घरको भान्सा कोठामा भएको आगलागीमा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
तीन वटै स्थानमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीका कारण मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरीले आगलागीको कारण बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




