सिरहा । सिरहा नगरपालिकाले संस्थागत विद्यालयहरूलाई निश्चित पब्लिकेशनबाट मात्र पाठ्यपुस्तक खरिद गर्न बाध्य बनाउने आदेश जारी गरेको छ । नगरपालिकाको यो निर्णय शिक्षाको स्वतन्त्रता र कानुनी प्रावधान विपरीत भएको भन्दै अभिभावक, शिक्षक तथा निजी विद्यालयहरूको प्रतिनिधिमूलक संगठनले विरोध जनाएका छन् ।
गत चैत २० गते प्रकाशित सूचनामा नगरपालिकाले कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकहरू केवल तक्षशीला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदन्ता, रिडमोर र विद्यार्थी पब्लिकेशनबाट मात्र खरिद गर्न भनिएको छ । तर शिक्षा ऐनअनुसार विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत कुनै पनि प्रकाशनको पुस्तक खरिद गर्न स्वतन्त्र छन् ।
सूचनाको पछाडि जनप्रतिनिधि र कर्मचारीहरूको कमिसनको लोभ रहेको खुलेको छ । स्रोतका अनुसार नगर प्रमुख नवीन यादव तथा कर्मचारीहरूले प्रकाशनहरूसँग २०/२५ प्रतिशत कमिसनको सहमति गरी पुस्तक खरिदमा निर्देशन जारी गरेका हुन् । केही प्रकाशनहरूले २० प्रतिशतसम्म कमिसन दिएको स्वीकारसमेत गरेका छन् ।
यसप्रति प्याब्सन सिरहाका प्रतिनिधि लालबाबु रायले कडा आपत्ति जनाएका छन् । उनले भने, “गत वर्ष पनि मेयरले जबर्जस्ती पाठ्यपुस्तकमा एकरूपता लागू गर्ने प्रयास गर्नुभएको थियो, तर हाम्रो विरोधपछि त्यो योजना रोकिएको थियो । यसपालि नगर शिक्षा समितिको बैठकमै विरोध गरेपनि मेयरले अडान नछोडी नियम विपरीत निर्णय लागू गर्नुभएको हो ।”
नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको हस्ताक्षरमा प्रकाशित सूचनामा भने नगर शिक्षा समितिको निर्णय भन्दै यो नियम लागू गरिएको र अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ । तर प्रशासकीय अधिकृत यादवले भने पब्लिकेशनसँग कमिसनको कुरा अस्वीकार गर्दै उक्त निर्णय विद्यार्थी र अभिभावकको हितमा रहेको दाबी गरेका छन् ।
त्यस्तै, मिर्चैया नगरपालिकाले पनि अघिल्लो शैक्षिक सत्रमा नै वेदन्ता, अस्मिता, ओसिस, एकता, रिडमोर, विद्यार्थी र ब्रिलियन्ट प्रकाशनका किताबहरू लागू गरिसकेको छ । मिर्चैयाका शिक्षा शाखा प्रमुख भरत बानियाँका अनुसार नगरभित्रका सबै निजी विद्यालयहरूमा यी पब्लिकेशनबाट मात्र पुस्तकहरू प्रयोग गरिँदै आएको छ ।
शिक्षाको गुणस्तर सुधारको नाममा स्थानीय सरकारको यस्तो अवैध हस्तक्षेपले शैक्षिक स्वतन्त्रता, अभिभावकको छनोट स्वतन्त्रता र विद्यार्थीको पहुँचमा नकारात्मक असर परेको अभिभावकहरूको गुनासो छ ।





