रौतहट । नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले विद्यार्थी विभागको संयोजकको जिम्मेवारी श्यामहरी चौलागाईंलाई सुम्पिएको छ । पार्टी सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले आइतवार एक औपचारिक पत्रमार्फत चौलागाईंलाई विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।
चौलागाईंको मनोनयन नेपाली कांग्रेसको विधान २०७६ को दफा ४८ (७) अनुसार गरिएको जिल्ला कार्य समितिले जनाएको छ । सभापति यादवले पत्रमार्फत चौलागाईंको संगठनप्रतिको योगदान, विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता तथा नेतृत्व क्षमताको प्रशंसा गर्दै भनेका छन्, “पार्टीले तपाईंको ऊर्जाशील र जुझारु भूमिकालाई मूल्याङ्कन गर्दै विद्यार्थी विभागको प्रमुख जिम्मेवारी सुम्पिएको छ । यो विभाग तपाईंको नेतृत्वमा सशक्त र परिणाममुखी बन्नेमा पूर्ण विश्वास लिएको छु ।”
मनोनयनप्रति प्रतिक्रिया दिँदै चौलागाईंले उक्त जिम्मेवारीलाई अवसर भन्दा पनि चुनौती र कर्तव्यका रूपमा लिएको बताए । “पार्टीको विश्वासलाई म कर्म र नतिजाबाट प्रमाणित गर्नेछु,” उनले भने, “विद्यार्थीका हक हितका सवालमा म संगठित रूपमा अगाडि बढ्नेछु ।” उनको मनोनयन प्रति जिल्लाभरका युवा, विद्यार्थी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।




