सिरहा । सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजदेखि विकास निर्माणका कार्यहरू प्रभावित भएका छन् । चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा पनि नगरपालिकाले आफ्नो योजना कार्यान्वयन गर्न नसक्नु र सेवाग्राहीहरू समस्यामा पर्नु चिन्ताजनक विषय बनेको छ ।
गत माघ महिनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको आर्थिक तथा प्रशासनिक अधिकार खोसिएपछि नगरपालिकामा उक्त पद रिक्त भएको हो । त्यसयता मन्त्रालयबाट नयाँ अधिकृत नपठाइएपछि नगरको दैनिक कार्य सञ्चालनमा अवरोध आएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण केही योजनाहरू सम्झौतामा पुग्न सकेका छैनन् भने सम्पन्न भएका योजनाहरूको भुक्तानी रोकिएको छ । सामाजिक सुरक्षा भत्ता, बालपोषण कार्यक्रम, ज्येष्ठ नागरिक भत्ता तथा कर्मचारीको पारिश्रमिक समेत रोकिएको छ, जसले सर्वसाधारणदेखि कर्मचारीसम्म सबैलाई प्रभावित बनाएको छ ।
नगरपालिकाका कर्मचारीहरूले चैत महिनामै जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत तुरुन्त खटाउन ज्ञापन बुझाएका थिए ।
नगरप्रमुख डा. नवीन यादवले मन्त्रालयमा पटकपटक लिखित र मौखिक रूपमा जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरेका छन् । उनका अनुसार, मन्त्रालयले या त नयाँ अधिकृत खटाउनुपर्छ, नभए अहिलेसम्म कार्यरत अधिकृतलाई नै पूर्ण अधिकार दिई पुनः जिम्मेवारी दिनुपर्छ ।
अबको तीन महिनामा आर्थिक वर्ष सकिँदै छ भने नयाँ वर्षको बजेट निर्माणको तयारीसमेत थालिनुपर्ने समयमा प्रशासकीय नेतृत्वविनाको अवस्था गम्भीर रहेको नगरप्रमुख यादवको भनाइ छ । यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन नगरिए नगरको समग्र विकास अवरुद्ध हुने देखिन्छ ।




