सिरहा । सिरहाका एक जना पूर्ववडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो ।
सोमबार बिहान साहलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यस सम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
२०८० माघ १९ गते नवराजपुर २ को पूर्ववडा अध्यक्ष समेत रहेका खुशीलाल साहले वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत सम्बन्धी बनाईएको चार किल्ला कागजातमा प्रष्ट देखिएको छ ।
साह स्थानिय तहको पहिलो २०७४ को निवार्चनमा नेपाली काङ्ग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए । साहले स्थानिय तहको दोस्रो निवार्चनमा पार्टीले टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए । एमालेबाट गाँपा अध्यक्षमा लडेका उनी पराजित भएपछि पुन: नेपाली काङ्ग्रेसमै फर्किएका थिए ।
पूर्ववडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफ्नै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिएको पाइएपछि घटना बाहिरिएको हो । पूर्ववडा अध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेको हो ।
सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि आफूले २०८०/११/१३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी वडाबाट निवेदन दिएको वडा अध्यक्ष सुरेश कुमार यादवले जनाएका छन् ।
‘साहले पहिला कै लेटरहेड प्रयोग गरी मेरो हस्ताक्षर र कार्यालयको सरकारी छाप समेत किर्ते गरेको जानकारी पाएपछि आफूले सबैतिर कार्यवाहीको लागी निवेदन दिएको छु,’ उनले भने, ‘यो मान्छे नै जालसाजी छ, उनीमाथी अहिले पनि थानामा ७ वटा भन्दा बढी मुद्दाहरु छ । गल्ती गर्ने मान्छेलाई कानुनले छोड्दैन । म ढुक्क छु स काुननले अवश्य न्याय दिनेछ ।’
साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) विरेन्द्र पासवानले बताए । उनले भने, ‘पूर्ववडा अध्यक्ष साह उपर निवेदन आएपछि अनुसन्धान थालिएको छ ।’
अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको जनाए । साह माथि थप अनुसन्धान भइरहेको प्रवक्ता पासवानले जानकारी दिए ।




