धनुषा । धनुषाधाम नगरपालिका ६ स्थित समसुल राईनको आँपको बगैँचामा जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ६० वर्षीय काजी बहादुर तामाङसहित तीन जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रुपैयाँ र एक बुक ताससहित नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नेबित्तिकै केही व्यक्ति भने फरार भएका छन् ।
फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र जुवातास जस्ता सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ अभियान सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ ।




