काठमाडौं । सार्वजनिक खरिद ऐनको उल्लंघन गरी आर्थिक अनियमितता गरेको अभियोगमा पचरौता नगरपालिकाका तत्कालीन अधिकारीहरू र एक निजी कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, पचरौता नगरपालिका, बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव, लेखापाल हासिम मियाँ अंसारी र K.S. MULTIPURPOSE Pvt. Ltd. का अध्यक्ष कमल कुमार उपाध्यायमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दर्ता गरेको हो ।
उनीहरूले आ.व. २०७७/०७८ मा सञ्चालन गरिएका ठेक्काहरू (ठेक्का नं. 02/2077/78 र 03/2077/78) का लागि बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था विपरीत, स्थानीय ‘प्रभाव दैनिक’ पत्रिकामा मात्र एक प्रति सूचना छापेर रु. ३,५२,५६०।– को भुक्तानी कम्पनीलाई दिलाएको आरोप छ ।
अख्तियारको अनुसन्धानबाट ती सूचना नगरपालिकाको अभिलेखका लागि मात्र प्रकाशित गरिई झुट्टा विवरणका आधारमा कम्पनीलाई रकम भुक्तानी गरिएको पुष्टि भएको जनाइएको छ ।
आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा २२ बमोजिम कारबाहीको माग गर्दै बिगो असुल उपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्रवक्ता पौडेलका अनुसार, उपाध्यायले गैरकानुनी लाभ लिने उद्देश्यले मतियारको भूमिका खेलेका कारण मुख्य कसूरदार सरह सजाय हुनुपर्ने माग गरिएको हो ।




