सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका १९ कटाहा चोकमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
म प्र ०१–००१ स २१४० नम्बरको सिटी सफारी हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा ठोक्किँदा लहान नगरपालिका २ बस्ने १९ वर्षीय मो. हइदरको मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल लहान लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिटी सफारीमा सवार अर्का एक जना यात्रु घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, सिटी सफारी चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी कार्य भइरहेको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




