रौतहट । रौतहट जिल्लामा शुक्रबार दुई स्थानमा भएको छुट्टाछुट्टै आगलागीमा गरी करिब ४४ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ । चन्द्रपुर नगरपालिका ५ राजपेडास्थित अपि पावर कम्पनी प्रालिको सोलार आयोजनाको स्विचयार्ड र इन्भर्टरमा विद्युत लाइन चार्ज गर्ने क्रममा राति आगलागी भएको हो ।
आगलागीका कारण आयोजनामा रहेका विभिन्न विद्युतिय उपकरणहरू जलेर करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।
त्यस्तै, राजपुर नगरपालिका २ फतुहा टोलस्थित अच्छेलाल साहको घरमा विद्युत सर्ट भई दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट साहको करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ ।
आगो फैलिँदा छिमेकी शेख समसादका फर्निचर सामग्रीहरू समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुबै घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा सम्पत्ति नोक्सानी भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




