सिराहा । सिराहा जिल्लाको दुई फरक स्थानमा शुक्रबार भएको आगलागीका घटनामा करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनगढीमाई नगरपालिका ६ सिम्राहा चोकमा ममता चौधरीको खाजा पसलमा ग्यास लिक भई दिउँसो आगलागी भएको हो ।
आगो फैलिँदा सोही ठाउँका दुतराज मण्डल र अन्जिरा ठाकुरका खाजा घरहरू तथा सोनाही चौधरीको घरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यस्तै, बरियारपट्टी गाउँपालिका १ नर्गि टोलमा ५५ वर्षीय नथुनी मियाको घर नजिकै रहेको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
उक्त आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुबै घटनामा मानवीय क्षति नभएको र आगलागीको कारण तथा क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




