धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान दुई ट्रक एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ ।
पूर्वतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ०७१५ नम्बरको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रकसँग ठोक्किँएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठोक्किना साथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगलागी भएको थियो ।
दुर्घटनामा दुबै ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित अस्पतालमा पठाइएको धनुषा प्रहरीले जानकारी दिए ।
आगलागीका कारण ना ६ ख ३४६३ नम्बरको ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको छ । अहिले धनुषा प्रहरीले वारुण यन्त्रको सहायतामा आगो नियन्त्रणमा लिन प्रयास जारी रहेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




