सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रशासकीय अधिकृत, इञ्जिनियर, लेखापाल, सबइञ्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र वडाध्यक्षसमेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो ।
कृषि सडक निर्माणका क्रममा मिलेमतो गरी तोकिएको सर्त तथा सम्झौता विपरीत काम कम गरी बढी भुक्तानी दिएको, झुटा भर्पाइ तयार गरेको र फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम देखाई भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
विशेष अदालतमा मुद्धा दायर गरिएका प्रतिवादीहरूमा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ तहका मोहम्मद रफिक रहेका छन् ।
यस्तै सबइञ्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीया कुमारी र वडा नम्बर ६ का वडाध्यक्ष श्यामबाबु साह पनि रहेका छन् ।
अख्तियारको अनुसन्धानमा सडक निर्माणका क्रममा झुटा भर्पाइ तयार गरी कुल सात लाख ७९ हजार २०५ रुपैयाँ भ्रष्टाचार गरिएको देखिएको छ । सोही भ्रष्टाचारको आधारमा अख्तियारले प्रतिवादीहरूलाई कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।




