राजविराज । सप्तरीको राजविराज नगरपालिका १ चनौरामा एक आमाले आफ्ना छोरासँगै विष सेवन गर्दा चार वर्षीय छोराको मृत्यु भएको छ भने आमा गम्भीर बिरामी भएकी छन् ।
घरायसी विवादका कारण २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ आफ्ना छोरा सौरभकुमार साफीलाई विष खुवाएकी थिइन् । विष सेवन गराएपछि सौरभ सिकिस्त भएपछि उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो ।
उनलाई त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानमा पनि उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल, विराटनगर पठाइएको थियो ।
नोबेल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान सौरभको मृत्यु भएको हो। विष सेवन गरेकी आमा काजलदेवी साफीको पनि नोबेल अस्पतालमै उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




