सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट एक जना थुनुवा आइतबार राति फरार भएका छन् । उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खाल रहेका बाबजुद शम्भुनाथ नगरपालिका ११ का ३५ वर्षीय रमानन्द मण्डल कारागारबाट भागेका हुन् ।
चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मण्डल २०८१ साल पुस ६ गतेदेखि जिल्ला कारागार सप्तरीमा बन्दी जीवन बिताइरहेका थिए । कारागार प्रमुख मातृकाप्रसाद दाहालका अनुसार मण्डल कसरी भागे भन्ने विषय अझै एकीन भइसकेको छैन ।
थुनुवा र कैदी गणना गर्दा संख्या नपुगेपछि मण्डल फरार भएको पत्ता लागेको कारागार प्रशासनले जनाएको छ । साथै, घटना भएका बेला ड्युटीमा रहेका प्रहरी कर्मचारीहरू माथि समेत आन्तरिक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




