सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकास्थित नागमनी टोलबाट करिब साढे ७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट जारी प्रेस विज्ञप्ति अनुसार मंगलबार दिउँसो २:३० बजे मलंगवा नगरपालिका ९ नागमनी टोलमा गस्ती टोलीले प्रदेश २–०३–००७ प २५९३ नम्बरको मोटरसाइकल जाँच गर्दा गाँजा फेला परेको हो ।
उक्त मोटरसाइकलमा सवार बरहथवा नगरपालिका ११ का ३७ वर्षीय रामप्रवश मुखियाले बोकेको कालो झोलामा ७ किलो ४०० ग्राम गाँजा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
मुखियामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।




