सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ३ राधाकृष्ण टोलमा गएराति भएको आगलागीबाट दुई घरमा ठूलो क्षति भएको छ । विद्युत सर्ट भएर लागेको आगोले ४५ वर्षीय विनोद ठाकुर र उनका भाइ ३५ वर्षीय मनोज ठाकुरको घरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार आगलागी राति करिब ११ बजेतिर सुरु भएको थियो । आगो निभाउन सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा करिब दुई घण्टा लागेको थियो ।
आगलागीमा मानवीय क्षति नभए पनि घरमा रहेका लत्ताकपडा, फर्निचर, भाँडाकुडा र अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।




