बारा । फेटा गाउँपालिका ७ स्थित गमहरिया चोक नहर सडकखण्डमा पिकअप र अटो एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन् ।
बिहीबार दिउँसो भएको दुर्घटनामा बा ०१–०३० च १४२१ नम्बरको पिकअपले ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार विश्रामपुर गाउँपालिका ५ ईटियाहि टोलका १३ वर्षीय समर पण्डितको मृत्यु भएको हो । उनी सुनिल पण्डितका छोरा हुन् ।
गम्भीर घाइते समरलाई उपचारका लागि एनएमसी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार अर्का एक जना पनि घाइते भएका छन् र उनी सोही अस्पतालमा उपचाररत छन् ।
प्रहरीका अनुसार अटो चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनापछि फरार रहेका पिकअप चालकको खोजी जारी छ । स्थानीयहरूका अनुसार घटनास्थलमा ट्राफिक नियमको उल्लंघन तथा तीव्र गतिले दुर्घटनालाई निम्त्याएको आशंका गरिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




