पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ घर भएका २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङ रहेका छन् ।
बुधबार बेलुकी वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट नजिक भारततर्फ जाँदै गरेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आफन्त नेपालका प्रतिनिधिको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो तलब र सुविधा हुने भन्दै प्रलोभनमा पारेका थिए । तर, वास्तविक उद्देश्य भने भारत लैजाँएर बेचबिखन गर्ने योजना रहेको खुल्न आएको छ ।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप लिइएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।




