जनकपुरधाम । धनुषा जिल्लाको हंशपुर नगरपालिका ३ मझौरास्थित सडकखण्डमा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
बकचौराबाट मझौरातर्फ जाँदै गरेको ज ८ प १४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मिथिला बिहारी नगरपालिका ७ तारापट्टी निवासी ४४ वर्षीया पुनिता देवी ठाकुर गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उनलाई उपचारका लागि न्यूरो अस्पताल जनकपुर लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । दुर्घटनाको कारण बारे यथार्थ विवरण आउन बाँकी भएपनि मोटरसाइकल अनियन्त्रण भई चिप्लिएको प्रारम्भिक अनुमान गरिएको छ ।
मोटरसाइकल चालकको अवस्था र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




