सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका ५ कोठियारस्थित एक प्राथमिक विद्यालय नजिकै अवैध रूपमा सञ्चालन भएको क्रसर हटाउन माग गर्ने स्थानीय ६ जनाविरुद्ध नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएको आरोप लागेको छ ।
पीडित स्थानीयवासीहरूका अनुसार विद्यालय र नजिकै रहेको मन्दिरको छेउमा सभापति सिंह र उनका भाइ बीरेन्द्रप्रसाद सिंहले सञ्चालनमा ल्याएको क्रसरको धुलोले अध्ययन वातावरण खराब भएको, बालबालिका बिरामी पर्न थालेका र केही अभिभावकले त बालबालिकालाई अन्यत्र पढाउन बाध्य भएको बताएका छन् ।
क्रसरविरुद्ध आवाज उठाउँदा सभापति सिंहले उल्टै ‘हुल इज्जत’ गरेको आरोप लगाउँदै ६ जनाविरुद्ध डाँका मुद्दा दर्ता गराएको पीडित दिपेश यादवले जानकारी दिए । उनका अनुसार, वैशाख १० गते सभापति सिंह आफैँ रड बोकेर गाउँमा आएर स्थानियहरूमाथि आक्रमण प्रयास गरेपछि झडपको स्थिति सिर्जना भएको थियो । पछि उनी भागेर गए पनि केही दिनपछि ‘पावर देखाउँदै’ झुटा मुद्दा लगाएको यादवको आरोप छ ।
मुद्दा खेप्नुपर्नेहरूमा दिपेश यादव, मदन साह, राम आधार यादव, राम प्रवेश यादव, विजय गुप्ता र ज्ञानी यादव रहेका छन् । पीडितहरूका अनुसार क्रसर प्राथमिक विद्यालयदेखि करिब ३०/३५ मिटरको दूरीमा रहेको छ, जुन शैक्षिक मापदण्ड विपरीत हो । साथै, त्यही क्षेत्रमा माईको मन्दिर पनि रहेको छ ।
पीडितहरूका अनुसार, सभापति सिंहले वैशाख १२ गते इलाका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराएका थिए, जसअनुसार उनीहरू विरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ । हाल ती व्यक्तिहरू फरार छन् ।
यसैबीच, तत्कालीन डिएसपी गौतम थापाले माथिल्लो राजनीतिक दबाबका कारण आफूले मुद्दा दर्ता गर्नु परेको भन्दै पीडितहरूलाई सूचित गरेर सरुवा भएको उनीहरूको भनाइ छ । डिएसपी थापा गृह मन्त्रालयकै दबाबमा मुद्दा अगाडि बढाइएको बताउँदै स्थान परिवर्तन भएको जनाइएको छ ।
बरहथवाका प्रहरी निरीक्षक राजन पट्टेलले पनि सभापति सिंहका परिवारले मुद्दा दर्ता गराएको पुष्टि गर्दै हाल अनुसन्धान भइरहेको जानकारी दिए । “क्रसरको विषयमा झडप भएको रहेछ, मुद्दा परेको छ, हामी अनुसन्धान गर्दैछौं,” उनले भने । यस बारे प्रतिक्रिया लिन खोज्दा कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहसँग भने सम्पर्क हुन सकेन ।




