रौतहट । रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्र कटहरिया बजारमा सार्वजनिक शौचालयको अभावले दैनिक सयौं व्यापारी, सेवाग्राही र सर्वसाधारणलाई ठूलो सास्ती भएको छ । विशेष गरी सुनार चौक क्षेत्र, जहाँ नेपाल बैंक लिमिटेड, प्रहरी चौकी, दर्जनौं सुनचाँदी पसल तथा अन्य व्यवसायिक प्रतिष्ठान छन्, त्यहाँ शौचालय सुविधा नहुँदा सबै जना असहज परिस्थितिमा छन् ।
बजारको दक्षिणतर्फको एउटा अव्यवस्थित सार्वजनिक शौचालयले केही राहत दिएको भए पनि उत्तरतर्फ जहाँ भीड बढी हुन्छ, त्यस्तो कुनै पनि सुविधा छैन । हप्ताको दुई दिन लाग्ने हाटबजार (आइतबार र बुधबार) मा अझ ठूलो संख्यामा नागरिकहरू किनमेल गर्न आउँछन्, तर सहज रूपमा शौच गर्ने स्थान नहुँदा पुरुषहरू झण्डै ७ सय मिटर टाढा जान बाध्य छन् भने महिलाहरू झनै अप्ठ्यारोमा परिरहेका छन् ।
स्थानीय सुनचाँदी व्यवसायी जयमंगल साहका अनुसार ग्राहकको भरमा पसल छाडेर शौच गर्न जानुपर्ने बाध्यता हुन्छ, जसले चोरी वा हिनामिना हुने जोखिम बढाउँछ । अर्का व्यापारी राधेश्याम साहले महिलाहरूलाई शौचका लागि कुनै पारिवारिक घर वा झ्याङमा जानुपर्ने बाध्यता रहेको बताए ।
सुनार चौकमै रहेको करिब दुई धुर एलानी सरकारी जग्गा, जसको मूल्याङ्कन १० लाख रुपैयाँभन्दा बढी रहेको अनुमान छ, त्यहाँ एक व्यक्तिले निजी ट्युवेल जडान गरी वर्षौंदेखि भोगचलन गर्दै आएको छ । स्थानीयवासीहरूले सो ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न सकिने भन्दै पटक–पटक माग गरे पनि सम्बन्धित निकायहरूको ध्यान पुग्न सकेको छैन ।
कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुशवाहाको कार्यकालमा पनि यो समस्या समाधान भएन । अहिलेका मेयर अजय प्रकाश जैसवालको कार्यकाल तेस्रो वर्षमा प्रवेश गर्दा पनि सुनार चौकमा सार्वजनिक शौचालय निर्माणको काम अघि बढ्न सकेको छैन । वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, जो नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति समेत हुन्, उनीमाथि जनसरोकारविहीन योजनामा प्राथमिकता दिएको आरोप स्थानीयले लगाइरहेका छन् ।
यता, मेयर जैसवालले भने सुनार चौक क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नका लागि योजना स्वीकृत भइसकेको बताउँदै चालु आर्थिक वर्षभित्र निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाएका छन् । स्थानीयवासीहरू अब आश्वासनभन्दा परिणाम चाहिरहेका छन् । जनस्वास्थ्य र सभ्य समाज निर्माणका लागि यस्तो आधारभूत पूर्वाधारको तत्काल व्यवस्थापन अनिवार्य देखिन्छ ।




