रौतहट । रौतहटको गढीमाई नगरपालिका ४ मा रहेको ‘राइजिङ सुधार केन्द्र’मा एक युवकमाथि भएको कुटपिटको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे गम्भीर छानबिन सुरु गरेको छ ।
भाइरल भिडियोमा तीन जना युवकले एक जनालाई समातेर, एक जनाले प्लास्टिकको लौरोले बेरोकटोक कुटपिट गरिरहेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि सुधार केन्द्रका सञ्चालक वीरगञ्ज महानगरपालिका ८ निवासी सुरज गुप्ता आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई विवरण प्रस्तुत गरेका छन् ।
प्रहरीका अनुसार पीडित युवक २०८१ सालको मंसिर १५ गते नै सुधार केन्द्रबाट डिस्चार्ज भइसकेका छन् भने कुटपिटमा संलग्न भनिएका व्यक्तिहरू पनि अहिले केन्द्रमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार प्रहरी टोलीले केन्द्रमै पुगेर स्थलगत अनुसन्धान गरिसकेको छ । “हामीले केन्द्रमा रहेका सबैलाई सोधपुछ गर्दा हाल रहेका सबै नयाँ भर्ना भएका हुन्, भिडियोलाई लिएर अनुसन्धान जारी छ,” प्रवक्ता रायले जानकारी दिए ।
घटनाका पीडित सम्पर्कमा नआएकाले खोजी कार्य तीव्र पारिएको छ भने कुटपिटमा संलग्न शिबु पाण्डे नामका व्यक्ति वीरगञ्जका रहेको प्रहरी स्रोतले जनाएको छ । पीडित युवक रितेश यादव भएको प्रारम्भिक रूपमा खुलेको छ ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । यदि हाल पनि केन्द्रमा यस्ता अमानवीय क्रियाकलाप पाइएमा सञ्चालकसहित दोषीहरूमाथि कडा कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
सुधार केन्द्रमा युवालाई सुधारको सट्टा हिंसाको शिकार बनाउनाले यस्तो केन्द्रको औचित्यमै प्रश्न उठेको भन्दै स्थानीयवासी र सामाजिक अभियन्ताहरूले तत्काल सुधार केन्द्रको गहिरो अनुगमन र नियमनको माग गरेका छन् ।




