सिराहा । सिराहाको भगवानपुर गाउँपालिका र मिर्चैया नगरपालिकामा गएराति दुई छुट्टाछुट्टै स्थानमा भीषण आगलागी हुँदा करिब २७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भगवानपुर गाउँपालिका १ कल्याणपुरमा बस्ने सम्पैतलाल पण्डितको गोठमा अज्ञात कारणले आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यसैगरी मिर्चैया नगरपालिका ७ का रञ्जित कुमार साहले संचालन गर्दै आएको मिर्चैया ६ स्थित जय भवानी ट्रेडर्स नामक कवाडी कारखानामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेको हो ।
दुवै स्थानमा स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको विस्तृत विवरणका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।




