पर्सा । देशभर सीता जयन्तीको अवसरमा भव्य रूपमा कार्यक्रमहरू आयोजना भइरहँदा ठोरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल सीतागुफा भने यस वर्ष पनि पूर्णरूपमा सुनसान रह्यो । मधेस प्रदेश सरकारले जानकी नवमीको अवसरमा सार्वजनिक बिदा दिएर उत्सव मनाए पनि ठोरीको यो महत्वपूर्ण धार्मिक स्थलमा कुनै औपचारिक कार्यक्रम नहुँदा स्थानीयवासी निराश भएका छन् ।
कुनै समय रामनवमी, सीता जयन्ती र विवाह पञ्चमीजस्ता पर्वहरूमा चहलपहल रहने सीतागुफा अहिले कार्यक्रमविहीन बन्दै गएको छ । विगत तीन वर्षदेखि त्यहाँ कुनै धार्मिक अनुष्ठान नहुँनुको मुख्य कारण बजेट अभाव रहेको स्थानीय बताउँछन् ।
२०७८ सालसम्म स्थानीय तहबाट सीतागुफा शीर्षकमा छुट्टै बजेट विनियोजन गरेर धार्मिक गतिविधिहरू सञ्चालन गरिँदै आएको थियो । रामको जन्मस्थान ठोरी भएको अभिव्यक्ति सार्वजनिक भएपछि केही समय सीतागुफा चर्चामा आए पनि त्यसपछि तीनै तहका सरकारहरूले चासो नदिँदा यो स्थल ओझेलमा परेको छ ।
स्थानीय तहको नेतृत्व फेरिएपछि यस क्षेत्रका धार्मिक र पर्यटकीय सम्भावनाहरूलाई प्राथमिकतामा राखिएको छैन । यसै कारण, पूर्वाधार विकासमा पनि कुनै प्रगति देखिएको छैन । सरस्वती खोलाले बाटो अवरुद्ध हुने भएकाले झुलुङ्गे पुल निर्माणका लागि सर्भे भए पनि त्यसपछि पहल हुन सकेको छैन ।
सीतागुफा एक ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावना बोकेको स्थल हो। उत्सवहरूका बेला मानिसहरूको भीड लाग्ने यो क्षेत्र अहिले पूर्णरूपमा सुनसान हुनु दुर्भाग्यपूर्ण भएको स्थानीयहरू बताउँछन् ।
धार्मिक पर्यटन प्रवर्द्धनमार्फत ठोरीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावना रहेकाले, स्थानीय तहले कम्तीमा यसको संरक्षण र विकासमा अग्रसर हुनुपर्ने माग बढ्दो छ ।




